काठमाडौँ-पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले बयान लिन सुरु गरेको छ। बुधबार गुरुङलाई समितिले बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो ।
दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा गुरुङलाई बुधबार बोलाएर प्रारम्भिक बयान सुरु गरिएको समितिका एक जना सदस्यले बताए । उनले भने, ‘आज हामीले उहाँलाई बोलाएका थियौँ।’
गुरुङसँगको बयान पुरा भएको छैन। भट्टको कम्पनीमा उनको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि २०८३ वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सापटी लिएर सेयर किनेको दाबी गरेका छन् । भट्टको कम्पनीमा उनले ५० लाख मूल्य बराबरको सेयर किनेको भेटिएको छ ।
मन्त्रिपरिषद्ले वैशाख २८ मा पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो । १५ दिनको समय सीमा तोकिएको समितिले छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ । समितिका एक जना सदस्य भन्छन्, ‘प्रमाण आउने क्रम जारी छ तर, छानबिन अन्तिम चरणमा पुगेको छ।’
अबको ४ दिनको बिदामा सकभर प्रतिवेदन लेखन सक्ने गरी काम भइरहेको समितिका सदस्यहरू बताउँछन् । एक सदस्य भन्छन्, ‘आज पनि प्रमाण आउने क्रम जारी छ, सकभर बिदामा प्रतिवेदन लेखन टुङ्ग्याउँछौँ ।’
छानबिन समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य छन् ।




प्रतिक्रिया