काठमाडौँ-नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने निर्णय अशोभनीय र गैरजिम्मेवार भएको बताएको छ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले परम्पराविपरीत गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने विषयमा बैठकमा गम्भीर छलफल भएको जानकारी दिइन्।
उनले प्रधानमन्त्रीको कदमलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैरजिम्मेवारीपनका रूपमा कांग्रेसले बुझेको बताइन्।
‘जान नसक्ने कारण स्पष्ट पारेको भए स्वाभाविक मान्न सकिन्थ्यो। तर कारण पनि नखुलाउने र सम्बोधन पनि नगर्ने कार्य गैरजिम्मेवारपन हो,’ थापाको भनाइ थियो।
प्रधानमन्त्री शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका छन्।
बैठकमा संसदीय दलको कार्यसमिति गठन तथा संसद्का विषयगत समितिमा पार्टीका तर्फबाट धारणा तय गर्न संयोजक तोक्ने विषयमा पनि छलफल भएको थियो। यद्यपि, ती विषयमा कुनै निर्णय नभएको प्रमुख सचेतक थापाले जानकारी दिइन्।
त्यस्तै, बैठकले प्रधानमन्त्री शाह नेतृत्वको सरकारप्रति जनतामा निराशा बढ्दै गएको निष्कर्ष पनि निकालेको छ।
कांग्रेसका अनुसार बहुमतको आडमा सरकारले गरेका निर्णय र गतिविधिका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ। सदन सञ्चालनका क्रममा विपक्षी दलसँग आवश्यक छलफल नगरी सरकार अघि बढेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
विगतमा सरकारले विपक्षीसँग सहमति र छलफल गरेर निष्कर्ष निकाल्ने परम्परा रहे पनि अहिले दुई तिहाइ मतको दम्भ देखाएर सदन ‘पेलेर’ सञ्चालन गरिएको कांग्रेसको आरोप छ।




प्रतिक्रिया