अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषा जिल्ला अदालत घेराउ गर्ने मिटरब्याज पीडितको चेतावनी

धनुषा जिल्ला अदालत घेराउ गर्ने मिटरब्याज पीडितको चेतावनी


जनकपुरधाम-मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्। जेठ १४ गते बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले आगामी मंगलबार मिथिला कमान्ड र भोजपुरा कमान्डको नेतृत्वमा शान्तिपूर्ण रूपमा धनुषा जिल्ला अदालत घेराउ गरिने जानकारी दिए।

उनले विगत १२ दिनदेखि पीडितहरू आन्दोलनमा रहे पनि राज्य पक्षले आफ्ना मागप्रति गम्भीरता नदेखाएको आरोप लगाए। छलफलका क्रममा समेत मिटरब्याज धनीहरूले पीडितको समस्यालाई बेवास्ता गरेको उनको भनाइ थियो।

महतोले भने, ‘१२ दिनसम्म पनि पीडितहरूको कुरा सुनिएको छैन। छलफलमा समेत मिटरब्याज धनीहरूले वास्ता गरेनन्। पीडितहरूको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडि बढाउँदैछौँ। यही जेठ १९ गते मिथिला कमान्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्छौँ।’

उनका अनुसार अदालत घेराउ कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट ८ देखि १० हजारसम्म पीडित सहभागी हुने अपेक्षा गरिएको छ।