काठमाडौँ-आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको साथ मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन्।
प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए।
अघिल्ला वर्षहरूमा गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यस वर्ष भने राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बालेनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गर्दै शीतल निवासमा पत्र पठाएका थिए।
नेपालमा गणतन्त्र स्थापनाको आन्दोलन २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि थप तीव्र बनेको थियो। त्यसपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।
२०६२ सालको जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । त्यसपछि संविधानसभा निर्वाचनमार्फत नयाँ राजनीतिक व्यवस्था संस्थागत गर्ने प्रक्रिया अघि बढेको थियो ।
२०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको हो ।
संविधान कार्यान्वयनसँगै संघीय, प्रादेशिक र स्थानीय तहका सरकार गठन भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार सञ्चालन हुँदै आएको छ ।




प्रतिक्रिया