अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऋण लिएर घ्यू खानेबजेट ल्याइयो: वर्षमान पुन

ऋण लिएर घ्यू खानेबजेट ल्याइयो: वर्षमान पुन


काठमाडौं-पूर्वअर्थमन्त्री समेत रहेका नेकपाका नेता वर्षमान पुनले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याएको बजेटलाई “ऋण लिएर घ्यू खाने” शैलीको बजेट भएको टिप्पणी गरेका छन्।

उनले बजेट आकारमा ठूलो देखिए पनि आवश्यक स्रोत सुनिश्चित नभएको भन्दै यसले देशको आर्थिक भार झन् बढाउने दाबी गरे।

‘यो अवास्तविक बजेट, फुलेको बजेट हो’, पुनले भने, ‘छुट, अनुदान र सामाजिक सुरक्षाको कुरा गर्नुभएको छ यो राम्रो हो। तर, स्रोतले धान्दैन।’

त्यस्तै उनले बजेट वितरणमुखी देखिएको भन्दै कहीँ न कहीँ स्थानीय चुनावलक्षित देखिएको बताए। ‘बजेट वितरण गरेपछि कहीँ न कहीँ वितरण गरेपछि जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञान छ’, पुनले भने, ‘कृषि क्षेत्रको सुधारमा उल्लेख्य कार्यक्रम आएन। युवा स्वरोजगार, स्वउद्यमशीलता उल्लेख्य कार्यक्रम ल्याउन बजेट चुकेको छ।’

वितरणमुखी बजेट ल्याएको र त्यसको स्रोत ऋण भनिएकोप्रति उनले असंगति भनेका छन्। ‘विगतमा स्थापित दलहरुले बढी ऋण उठाए, देश लुटे खाए भनेर आएको शक्तिले पनि ऋण लिएर घ्यू खाए जस्तो,’ पूर्वअर्थमन्त्री पुनले भने, ‘यो उहाँहरुको प्रतिबद्धता बिपरीत आएको छ। कि हामीले विगतमा बेठिक बोल्यौ, गलत आरोपहरु लगायौं भन्नुपर्यो होइन भने बाचाअनुरुप मिलेन।’

बजेटको आकार पनि वास्तविकतामा आधारित नभएको उनले बताए । योजना आयोगले २० खर्ब वरिपरीको सिलिङ तोकेपनि त्यसमा डेढ खर्ब बढाएर बजेट ल्याएको पुनले बताए ।

‘यो आकार वास्तविक होइन, स्वयं अर्थमन्त्रीलाई पनि थहा छ,’ उनले भने । विगतमा कम्युनिष्ट अर्थमन्त्रीहरुलाई वितरणमुखी बजेट ल्याएको भन्ने गरिएकोमा यसपटक पनि त्यस्तै बजेट आएको पुनले बताए ।