अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाको समर्थनमा बनेको सरकार, युवाकै बजेट कटौती: महासचिव शंकर पोखरेल

युवाको समर्थनमा बनेको सरकार, युवाकै बजेट कटौती: महासचिव शंकर पोखरेल


काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि तीव्र आलोचना गरेका छन्। महासचिव पोखरेलले बजेट भाषणमा विकास र समृद्धिका ठूला कुरा गरिए पनि व्यवहारमा त्यसअनुसारको प्राथमिकता नदेखिएको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले ‘सुनिने बजेट र देखिने बजेट फरक रहेको’ बताएका छन्। महासचिव पोखरेलले सरकारले विकास आयोजना, उत्पादन र रोजगारीभन्दा परनिर्भर अर्थतन्त्रलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

महासचिव पोखरेलले विगतको तुलनामा विकास आयोजनालाई कम महत्व दिइएको दाबी गर्दै साधारण खर्च कटौती गर्ने भनिए पनि व्यवहारमा उल्टै वृद्धि गरिएको आरोप लगाए। उनले जेनजी विद्रोहको जगमा बनेको दाबी गरिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयकै बजेट घटाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।

त्यस्तै, विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता जनाइएको भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट घटाइएको भन्दै उनले सरकारसँग प्रश्न उठाएका छन्। कृषि तथा वन मन्त्रालयको बजेट कटौतीले उत्पादन वृद्धि र आत्मनिर्भरताभन्दा रेमिटेन्समा आधारित अर्थतन्त्रलाई निरन्तरता दिने संकेत गरेको उनको भनाइ छ।

‘भाषणमा नारा र सपना धेरै सुनिए, तर बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहनभन्दा परनिर्भरतालाई बढी प्राथमिकता दिएको देखियो,’ महासचिव पोखरेलले उल्लेख गरेका छन्।

महासचिव पोखरेलले करको दर निर्धारण र राजस्व लक्ष्यबीच पनि सन्तुलन नदेखिएको टिप्पणी गर्दै बजेटले यथार्थ स्वीकार गर्न नसकेको आरोप लगाए।

महासचिव पोखरेलले भदौ २३ र २४ को घटनापछि उत्पन्न असुरक्षा र भयलाई सम्बोधन गर्नुपर्ने बेला गृहमन्त्रालयको बजेटसमेत कटौती गरिएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्। उनका अनुसार शान्तिसुरक्षाको प्रत्याभूति बिना लगानी प्रवर्द्धन र रोजगारी सिर्जना सम्भव हुँदैन।

‘बजेट भाषणमा सुनिएजस्तै यथार्थमा पनि त्यस्तै आएको भए कति जाती हुन्थ्यो,’ भन्दै उनले सरकारको बजेट कार्यदिशामाथि व्यंग्य गरेका छन्।