अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको बजेट अत्यन्तै महत्वाकांक्षी: पूर्वअर्थमन्त्री महत

सरकारको बजेट अत्यन्तै महत्वाकांक्षी: पूर्वअर्थमन्त्री महत


काठमाडौं-पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेलगत्तै पूर्वअर्थमन्त्री महतले राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्त गर्ने योजना व्यावहारिक नदेखिएको बताए ।

‘पहिलो कुरा त यो जुन विनियोजन २१ अर्ब प्लसको आएको छ। त्यसको लागि स्रोत जुट्न सम्भव छैन,’ महतले भने, ‘खर्च त्यति हुन पनि सक्दैन, त्यसको लागि आर्थिक स्रोत जुट्न पनि सक्दैन।’

बजेटमा कर्मचारीको तलब वृद्धि र केही क्षेत्रगत सुधारका प्रयासहरू सकारात्मक भए पनि खर्च गर्ने क्षमता र स्रोत व्यवस्थापनमा ठूलो चुनौती रहेको उनले बताए ।

नेपाली कांग्रेसका नेता महतले बजेटले महत्वकांक्षी आम्दानी र खर्चको विवरण पेश गरेको बताए। ‘बजेटले एकदम एम्बिसियस आम्दानी र खर्चको विवरण पेश गरेको छ,’ उनले भने।

नेता महतले अर्थमन्त्री वाग्लेले महत्त्वाकांक्षी आर्थिक विनियोजन र आम्दानीको ब्योहोरा प्रस्तुत गरेको पनि टिप्पणी गरे ।

१४ खर्बभन्दा माथि राजश्व जुटाउने र बाँकी आन्तरिक ऋण र बाह्य ऋणबाट लिने कुरा व्यवहारिक नभएको पूर्वअर्थमन्त्री महतको भनाइ छ।

‘यो महत्त्वाकांक्षी आर्थिक विनियोजन र आम्दानीको व्यहोरा उहाँले प्रस्तुत गर्नु भएको छ,’ उनले भने, ‘१४ खर्बभन्दा माथि राजश्व जुटाउने र बाँकी आन्तरिक ऋण र बाह्य ऋणबाट लिने कुरा व्यवहारिक छैन । यो महत्त्वाकांक्षी छ ।’

खर्च गर्ने क्षमता बारेमा ‘ओभर टार्गेट’ गरेका कारण समग्रमा कार्यान्वयन गर्न कठिन रहेको महतको भनाइ छ ।

उनले बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएको बताए । ‘बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएका छन्,’ महतले भने, ‘जहाँसम्म राम्रो कुराहरू छन्, त्यसमा कर्मचारीको तलब वृद्धि पनि पर्छ ।

तर, पूर्वअर्थमन्त्री महतले विगत केही वर्षदेखि तलब वृद्धि नभएका कारण जुन सुकै सरकार आएको पनि पनि कर्मचारीको तलब बढाउनु पर्ने अवस्था रहेकोसमेत बताए ।

‘जुनसकै सरकार आएको भए पनि कर्मचारीको तलब अहिले बढाउनु पर्ने अवस्था थियो,’ उनले भने, ‘दुईतीन सालदेखि नबढिरहेको अवस्थामा त्यो उपयुक्त भएको छ ।’

महतले कृषि क्षेत्रलाई प्रोत्साहन गरिने विषयलाई सकारात्मक रूपमा लिए। ‘जहाँसम्म कृषिको कुरा छ, यसलाई प्रोत्साहन गर्ने, भन्सार दरमा पनि कम गर्ने कुराहरू गरेको छ,’ उनले भने ।