काठमाडौं-अमेरिकी कूटनीति र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स एसेन्ट समिटमा सहभागी भएकी छन्। हिजो साँझ नेपाल आइपुगेकी उपविदेशमन्त्री रोजर्सले एसेन्ट समिट २०२६ मा प्रमुख अतिथिको रूपमा विशेष सम्बोधन गर्ने छिन् ।
भोलिसम्म नेपालमा रहने उनले आज सुरु भएको समिटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी र अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग भेटघाट गर्नुको साथै विभिन्न अमेरिकी शैक्षिक कार्यक्रमका भूतपूर्व विद्यार्थीहरूसँग बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थिति अमेरिकी दूतावासले जनाएको छ।
भेटघाटका अवसरमा उनले खुला समाज र आर्थिक समृद्धिको मुख्य आधारका रूपमा रहेका अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको पक्षमा आफ्नो धारणा राख्ने दूतावासले जनाएको छ।
आफ्नो भ्रमणको क्रममा उपविदेशमन्त्री रोजर्सले ललितपुरस्थित ऐतिहासिक पाटन दरबार स्क्वायरको भ्रमण गर्नुका साथै अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको सहयोगमा जीर्णोद्धार तथा संरक्षण गरिएका सातवटा पुरातात्त्विक स्थलहरूको समेत अवलोकन गर्ने बताइएको छ।
नेपाली समुदायको जनजीवन, धार्मिक अभ्यास र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका ऐतिहासिक सम्पदाहरूको संरक्षणमा संयुक्त राज्य अमेरिकाको निरन्तर सहयोग र प्रतिबद्धता रहने कुरालाई उनको यस भ्रमणमा थप जोड दिने बताइएको छ ।
नयाँ सरकार गठन भएयता अमेरिकाबाट भएको यो अहिलेसम्मकै उच्चस्तरीय कूटनीतिक भ्रमण हो । यसअघि वैशाख ८ गते अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेश मन्त्री पल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आएका थिए ।
जेठ १४ गते परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपविदेश सचिव एलिसन हुकरसँग टेलिफोनमा कुराकानी गरेका थिए । मन्त्री खनालले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरिरहेकोमा नेपाल सरकारका तर्फबाट अमेरिकी सरकारप्रति आभार प्रकट गरेका थिए ।
सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धि हासिल गर्ने नेपाल सरकारको प्राथमिकताबारे मन्त्री खनालले उनलाई जानकारी गराएका थिए ।
उपविदेश सचिव हुकरले नेपालसँग अमेरिका सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले अघि सारेको राष्ट्रिय विकासको प्राथमिकताबारे प्रशंसा गरेकी थिइन् ।




प्रतिक्रिया