अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन: भीम रावल

प्रधानमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन: भीम रावल


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन शाहलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्‍मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नभएको बताएका हुन्।

 रावलले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज २०८३ साल जेठ १७ गते नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ। किनकि देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले “प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ। नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।’

नेता रावलले प्रधानमन्त्री शाहलाई आफ्नो भनाइलाई पुष्टि गर्नसमेत चेतावनी दिएका छन्। साथै, यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र सो पार्टीका सांसदहरूले पनि जवाफ दिनुपर्ने उनको माग छ।

नेता रावलले अगाडि लेखेका छन्, ‘जो व्यक्ति संसद्‍मा ‍ यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भू-भाग अरू देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसद्‍मा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त ?’

प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग उनले गरेका छन्।

कहिल्यै कसैको अधिनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने उनको भनाइ छ।

उनले लेखेका छन्, ‘झन्डै दुई तिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ ।’