काठमाडौँ-विपक्षी दलहरूको बेल घेराउबिच आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित ‘प्रतिनिधिसभा नियमावली २०८३’ सोमबारको बैठकबाट कार्यान्वयनमा जाने भएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले पारित भएको नियमावलीबाट आजको बैठक सञ्चालन हुने जानकारी दिए । ‘हिजो पारित भएको नियमावलीबाट आजको बैठक सञ्चालन हुन्छ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावली मस्यौदामा ३५ संशोधन परेका थिए । ती संशोधनमाथि दफावार छलफलपछि पारित गर्ने बेलामा आइतबारको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए । उनीहरूको बेला घेराउको विरोधमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि उभिएपछि एकछिन तनावसमेत भएको थियो ।
पारित प्रतिवेदन केही बेरमा सभामुख डोलप्रसाद अर्यालले प्रमाणित गर्ने र त्यसपछि राजपत्रमा प्रकाशित गर्नका लागि पठाइने प्रवक्ता गिरीले जानकारी दिए ।
‘सभामुखज्यूले केही बेरमा प्रमाणित गर्नुहुन्छ । त्यसपछि आजै राजपत्रमा प्रकाशित गर्नका लागि पठाउने तयारी छ,’ प्रवक्ता गिरीले भने ।




प्रतिक्रिया