काठमाडौं-सत्तारुढ रास्वपाकी सांसद आशिका तामाङले विपक्षी दलहरूले उठाएका प्रश्नको सदनमै आएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सांसद तामाङले सदनमा आएर विपक्षी सांसदका प्रश्नहरूमा सवालजवाफ गरिदिन आग्रह गरेकी हुन्।
उनले भनेकी छन्, ‘विपक्ष सधैँ सही हुन्छ नै भन्ने पनि हुँदैन र सधैँ गलत नै हुन्छन् भन्ने पनि हुँदैन तर जब राष्ट्रियता कुरा आउँछ हामीले यो सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन, हामी एक जुट हुनु पर्दछ ! आजसम्म तीन दिन भो सदन चलेको छैन, संसद्को काम हाजिर गर्नु र भत्ता पचाउनु मात्र पक्कै होइन होला।’
सदनमा बजेटमाथि छलफल गर्नुपर्ने भन्दै अवरुद्ध भइरहँदा घाटा कसलाई त? भन्दै प्रश्न गरेकी छन्।
उनले थपेकी छन्, ‘जब देश विकासको मेरुदण्ड बजेटमा हामी बहस गर्न असमर्थ छौँ भने देशले कसरी पाउँछ निकास र विकास ? मेरो गोरुको बाह्रै टक्का हामी नयाँ भन्नेमा पनि भयो भने, ७३ जना सहिद जेनजी भाइबहिनी को आत्माले के सोच्लान्?’
उनले हरेक दिन सभामुखको मुख सानो न्याउरो हुँदै गएको राम्रो नहुने बताइन्।
उनले भनेकी छन्, ‘उहाँले आफूले चाहेर पनि आफ्नो कार्य सभा सञ्चालन गर्न पाउनुभएको छैन, त्यसैले म प्रधानमन्त्रीज्यूसँग के अपिल गर्छु भने तपाई हाम्रो अभिभावक हो हामी सबै तपाईँको सन्तान हौँ, अब तपाईले नै हामी लाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौँ, त्यसैले कृपया सदनमा आइदिनु भई प्रतिपक्ष दलका सवालजवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला।’





प्रतिक्रिया