काठमाडौं– पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले करिब एक घण्टा लामो अत्यन्त उपयोगी, फलदायी र सार्थक संवाद भएको उल्लेख गरेका छन् ।
सभापति लामिछानेले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताएका छन् ।
प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उलने साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर र सहज तथा निर्बाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताएका छन् ।
सभापति लामिछानेले नेपाल र भारतबीचको साझेदारीलाई प्रगति र पारस्परिक विश्वासमा आधारित बनाउने सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ती सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको पनि बताएका थिए ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागिता रहेको थियो । सो क्रममा नेपाल–भारत सम्बन्धलाई विगतका सीमितताहरूभन्दा माथि उठाउँदै ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढाउने दूरदृष्टिबारे विस्तृत छलफल भएको रास्वपाले जनाएको छ ।
रास्वपाका सभापति रवि लामिछानेसँगको भेट लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन वर्तमान सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री मोदीले भनेका छन्– ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबिचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ (वर्तमान) सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’
उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको समेत बताएका छन् । साथै मोदीले साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा पूर्ण रूपमा सहमत रहेको बताएका छन् ।




प्रतिक्रिया