अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो, मोदीले भने– ‘छिट्टै नेपाल आउँछु’

रवि लामिछानेले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो, मोदीले भने– ‘छिट्टै नेपाल आउँछु’


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। 

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो। सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए। 

प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए। भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ। त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए। पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए। सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए। 

भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन्। 

प्रधानमन्त्री बालेन एक वर्ष कुनै पनि देशको भ्रमण नगर्ने भनी उनकै पार्टीका पदाधिकारीहरूले स्पष्ट गरेपछि हाल उनको भारत भ्रमण नहुने देखिएको छ। यस अवस्थामा प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने कि नआउने त्यो पनि सोचनीय विषय रहेको जानकारहरू बताउँछन्। 

नेपालमा प्रधानमन्त्री नियुक्त हुने बित्तिकै पहिलो विदेश भ्रमण भारतको हुने परम्परा जस्तै थियो । तर बिचमा केही प्रधानमन्त्रीहरूले त्यो परम्परालाई तोडेका थिए।