अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकास पर्खाइमा मुठाचौर

विकास पर्खाइमा मुठाचौर


ढोरपाटन-हरियाली आलु बारी। भर्खरै उर्मिदै गरेका मकै। वरपर चारैतिर पालुवा पलाएपछि रमणिय बनेको छ, मुठाचौर। समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको मुठाचौर बागलुङको उच्च स्थानमा रहेको बस्ती हो। प्राकृतिक सुन्दरताले भरिएको मुठाचौर विकासका हिसाबले भने ओझेलमै छ। तमानखोला गाउँपालिका–२ मा पर्ने यस गाउँमा अहिलेसम्म खानेपानी र विद्युत्को सुविधा पुगेको छैन। भौगोलिक विकटता र जटिल भूगोलका कारण सास्तीमा रहेका नागरिक वर्षौँदेखि विकासको आशमा छन्। परम्परागत खेतीपाती र पशुपालन गरेर जीविन चलाइरहेका स्थानीय आफ्नै सुरमा छन्।

तीन वर्ष अगाडि गाउँपालिकाले सडक सञ्जालले जोडे पनि अरु विकास हुन सकेको छैन। सडक पनि त्यति व्यवस्थित छैन। यसका कारण बेलाबेला दुर्घटना हुने गरेको छ। मुठाचौरलाई मौलिक बस्तीका रुपमा लिने गरिन्छ। यहाँ बनेका घर, भवन र अन्य संरचना पनि परम्परागत छन्। ढुङ्गा, माटो र खरले बनेका घर यहाँ पुग्ने जो कोहीलाई आकर्षक लाग्छ। खासगरी घुम्ती बसाइँका रुपमा तमानखोला गाउँपालिका–२ भयरबोङ्गा, कटेरीलगायतका गाउँका स्थानीय यहाँ बस्ने गर्छन्। बाह्रै महिना बस्नका आधारभूत आवश्यक पूरा गर्न समस्या हुने हुँदा स्थानीय बर्खाको चार महिना मात्रै मुठाचौरमा बस्ने गर्छन्।

यहाँ आलु, मकै, सिमी लगायतका खाद्यन्न राम्रो उत्पादन हुन्छ। तर बजारीकरण भने हुन सकेको छैन। वस्तुभाउ पाल्ने र समान्य जीवनयापन गर्दै आएका स्थानीयले विद्युत, खानेपानी र व्यवस्थित सडक हुने पर्ने माग गर्दै आएका छन्। मुठाचौरमा बाह्रै महिना बस्नका लागि राज्यले सुविधा दिनु पर्ने स्थानीय बेगबहादुर विकले बताउनुभयो। उत्पादनका हिसाबले मुठाचौर निकै उर्वर रहेको भन्दै यहाँ बस्नका लागि निकै उपयुक्त रहेको उहाँको भनाइ छ।

विकले भन्नुभयो, ‘यहाँ बसोबास गर्न थालेको धेरै वर्ष भयो, धेरैजसो गाउँले बर्खाको समयमा यहाँ बस्छन् तर विकास भने हुन सकेको छैन। मोटरबाटो आएको पनि धेरेल समय भएको छैन, बाह्रै महिना गाडी पनि चल्न सक्दैन, बर्खाको समय रासन पानी सबै मान्छेले बोकेर ल्याउनुपर्छ, यो मोटरबाटो राम्रो भए त उहिले जमानाको जस्तो सामान बोकेर ल्याउनुपर्ने थिएन।’

मुठाचौर उर्वर मात्रै छैन। प्राकृतिक सुन्दरताका हिसाबले पनि मनमोहक छ। मुठाचौरबाट उच्च पहाडी क्षेत्रसँग धौलागिरी, माछापुछ«ेलगायतका हिमश्रृङ्खला नजिकैबाट नियाल्न सकिन्छ। समय–समयमा आन्तरिक पर्यटक घुम्न आउने गर्छन् तर विद्युत्को सुविधा नहुँदा बास बस्न मान्दैनन्। अहिलेसम्म विद्युत्को सुविधा नहुँदा दियालो बालेर रात बिताउनुपर्ने बाध्यता रहेको स्थानीय देवीसरा सुनारले बताउनुभयो। बेंशी (भयरबोङ, कटेरी गाउँ) झर्दा बिजुली बाल्ने बानी परेको भन्दै मुठाचौरमा अँध्यारोमा बस्दा गाहे हुने उहाँले गुनारो गर्नुभयो। ‘यहाँ (मुठाचौर)मा मान्छे बस्न थालेको सयौँ वर्ष भयो तर पनि बिजुलीको सुविधा अहिलेसम्म आउन सकेको छैन, सरकारलाई बिजुली चाइयो भनेर माग त गरेका छौँ, आउला भन्ने आश लागेको छ,’ सुनारले भन्नुभयो, ‘बिजुली नहुँदा रातिमा दियालो, टुकी बालेर रात कटाउँछौँ, कहिलेकाहीँ घुम्न आउने मान्छे बास बस्न खोज्छन् तर बिजुली छैन भनेपछि फर्किन्छन्।’

स्थानीयवासी असारदेखि नै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् । मुठाचौरमा बस्ने समयमा उनीहरु पशु चौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्य बालीहरु उत्पादन गर्ने गर्दछन् । चैत र वैशाखमा लगाएको आलु यतिबेला एकोहोरो खन्ने चटारो छ । अहिले आलु खन्न मुठाचौर उक्लिएका कटेरी र भयरबोङ्गावासी अब जेठ अन्तिम साता वस्तुभाउ लिएर असोजसम्म उतै बस्ने गरी उक्लिन्छन् ।

वर्खामा आकासेपानीको भरमा बस्ने स्थानीयलाई हिउँद्मा खानेपानीको हाहाकार नै हुन्छ । यसका कारण बेंशी झर्नुपर्ने बाध्यता छन्। बर्खामा आकाशबाट आएको पानी भरेर उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय मैतादेवी रसाइलीले बताउनुभयो। आकासेपानी भरेर पिउँदा समय समयमा बिरामी पर्ने गरेको उहाँको भनाइ छ। गाउँपालिकालाई खानेपानीको माग गरेको भन्दै केही समयमा घर–घरमा धारा बन्ने आश्वासन पाएको रसाइलीले सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘हिउँदमा पानी नहुँदा कोही पनि यहाँ बस्दैनन्, वस्तुभाउलाई खुवाउने, खाना पकाउने, नुवाइधुवाइ र सरसफाइमा समस्या हुन्छ, पहिला पहिला बराह तालबाट पानी लिएर पनि खायौँ, सरकारले यहाँको समस्या समाधान गरिदिए धेरैजसो मान्छे मुठाचौरमै बस्ने थिए, यहाँ बस्दा वस्तुभाउ पाल्न सजिलो हुने थियो।’

तमानखोला गाउँपालिका–२ का अध्यक्ष नारायण सुनारले यस क्षेत्रमा वर्षौँदेखि खानेपानी समस्या हुँदै आएको भन्दै त्यसको समाधानका लागि काम भइरहेको बताउनुभयो। विद्युत् विस्तारका लागि पोल गाड्ने काम भएको उहाँको भनाइ छ। वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयवासीले अब केही समयमै विद्युत्को सुविधा पाउने अध्यक्ष सुनार बताउनुहुन्छ। ‘यस ठाउँमा ठूलो सङ्ख्यामा मानिसहरुको बसोबास हुन्छ, सडक थिएन, सडक आयो, अब विद्युत् र खानेपानीको काम पनि गरिरहेका छौँ, भौगोलिक विकटताका कारण विकास छिटो हुन नसकेको हो” वडाध्यक्ष सुनारले भन्नुभयो, ‘अब केही समयपछि घर–घरमा खानेपानीको सुविधा हुनेछ भने विद्युतीकरण पनि हुनेछ, त्यसका लागि हामीहरु निरन्तर लागि रहेका छौँ।’

सडक पुगेपछि पलाउँदै नयाँ आशा

पर्यटक हिसाबले ठूलो सम्भावना बोकेको मुठाचौरमा सडक पुगेको तीन वर्ष मात्रै भयो। त्यस अगाडि स्थानीय बासिन्दाले दैनिक उपभोग्य वस्तु बोकेरै पु¥याउनुपर्ने बाध्यता थियो। हिउँदको समय सामान ढुवानी र यात्रा गर्न सहज भएपछि गाउँले खुसी छन्। सडक फराकिलो भए दुर्घटना कम हुने उनीहरुको अपेक्षा छ।

समय–समयमा हुने दुर्घटना रोक्न र बाह्रै महिना आवतजावतलाई सहजता बनाउन गाउँपालिकाले सडक व्यवस्थित बनाउन जरुरी रहेको स्थानीय हिराबहादुर विकले बताउनुभयो। अहिले सञ्चालनमा रहेको सडक निकै साँघुरो र अप्ठ्यारो रहेको उहाँको भनाइ छ। साँघुरै भए पनि सडकले मुठाचौर जोडिएपछि गाउँलेलाई ठूलो राहत मिलेको उहाँ बताउनुहुन्छ।

भयरबोङ्गा, कटेरी, बोङ्गादोभानलगायतका क्षेत्रबाट सामान ढुवानी गर्दा पाँच/छ घण्टा लाग्ने उहाँको भनाइ छ । ‘गाउँमा सडक आउँदा निकै खुसी छौँ, हाम्रा बाउबाजेले कति दुःख पाए, हाम्रो पनि आधा उमेर गयो तर अहिले सडक आउँदा सुविधा भएको छ,’ विकले भन्नुभयो, ‘हामीहरुले जति दुःख पाउनु पायौँ, हाम्रा छोराछोरीले त्यति दुःख पाउने छैनन्, ढिलै भए पनि विकास आउन थालेको छ, अबको केही वर्षमा मुठाचौरमै बाह्रै महिना बसोबास हुनेछ।’

स्थानीय कल्पना छन्त्यालले सडक व्यवस्थित भएपछि मुठाचौरमा उत्पादन हुने वस्तु बजारीकरणका लागि सहज हुने बताउनुभयो। यस क्षेत्रका सयौँ क्वीन्टल आलु उत्पादन भए पनि अहिलेसम्म बजार नपाएको भन्दै अब व्यापारी गाडी लिएर बारीमै पुग्ने सम्भावना बढेको उहाँको भनाइ छ । उत्पादनमा हिसाबले मुठाचौर उर्बर रहेको हुँदा आधुनिक कृषि प्रणालीलाई अपनाएर खेती गरे गाउँलेको जीवनस्तर उकासिने छन्त्याल बताउनुहुन्छ।

उहाँले भन्नुभयो,’अहिलेसम्म यो ठाउँका मान्छेहरुले परम्परागत खेती किसानी गरेर जीवन धान्दै आउनु भएको छ, अब खेती प्रणालीलाई आधुनिकतासँग जोड्न जरुरी छ, स्थानीय सरकारले अब यहाँका हरेक किसानलाई व्यवसायी बनाउन जरुरी छ, यस क्षेत्रका हरेक किसान व्यवसायिक बने भने यहाँ उत्पादन भएको तरकारी, मासुले तमानखोलालाई आत्मनिर्भर बनाउन सक्छ, यसतर्फ गाउँपालिकाले ध्यान दिन जरुरी छ।’

मौलिकता जोगाइ राख्ने प्रयास

तमानखोला गाउँपालिकाले मुठाचौरको मौलिकतालाई जोगाइराख्ने योजनामा छ। आधुनिकताले ग्रामीण क्षेत्रको मौलिकता मासिरहेको बेला यस गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्ने गरी योजना बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो। मुठाचौरको मौलिकताले सिङ्गो ग्रामीण क्षेत्रको झल्को दिने हुँदा यसलाई मौलिकताकै रुपमा विकास गरिने अध्यक्ष बुढामगर बताउनुहुन्छ।

‘मुठाचौरको हावापानी निकै स्वच्छ छ, यहाँका घर र बस्तीले वास्तवमै मौलिकता बोकेका छन्, यहाँको जस्तो घर अरु ठाउँमा भेट्याउन मुस्किल पर्छ, यहाँ हुने जैविक उत्पादन र स्थानीय नागरिकको रहनसहन धेरैले सिक्न जरुरी छ” अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘मुठाचौरवासीको जस्तो जीवनशैली अरुको हुने हो भने धेरै रोगबाट बच्न सकिन्छ, किनकी यो ठाउँ विषादीमुक्त छ, सबै चिज अर्गानिक छ, त्यही हो विकासका हिसाबले अलि पछाडि छ र समस्या हो तर हामीले विस्तारै विकासले जोड्दै गएका छौँ।’

अध्यक्ष बुढामगरले गाउँपालिकाभित्रका अन्य गाउँको सुन्दरता बिग्रिने हुँदा नयाँ घर भवन बनाउँदा मौलिकतालाई ध्यान दिनुपर्ने बताउनुभयो। त्यसका लागि गाउँपालिकाले कार्यविधि बनाएर कार्यान्वयन गर्न थालेको उहाँको भनाइ छ। जिल्ला सदरमुकामदेखि करिब ११५ किलोमिटर पश्चिममा पर्ने तमानखोला अहिले पनि विकट पालिकाको रुपमा रहेको छ।