काठमाडौँ-नेकपा (एमाले)को दुईदिने ‘पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ अन्तर्गत बिहीबार टोली नेताहरूले आफ्नो समूहगत प्रस्तुति दिएका छन्। कार्यशालामा सहभागी टोली नेताहरूले सदस्यता नवीकरण र विस्तार प्रक्रियामा देखिएका विभिन्न समस्या समाधानका लागि सुझाव प्रस्तुत गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८३ जेठ २० गते बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल गरिएको थियो भने दोस्रो दिन त्यसका निष्कर्ष प्रस्तुत गरिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अधिकांश टोली नेताहरूले सदस्यता नवीकरण र विस्तार प्रक्रियामा देखिएका जटिलताहरू हटाउन आवश्यक सुधारका सुझाव दिएका छन्।
‘सदस्यताका सम्बन्धमा आइपर्ने अप्ठ्याराहरू फुकाउनुपर्छ भन्ने सुझावहरू आएका छन्। कतिपयले सदस्यता नवीकरणको म्याद थप्नुपर्ने धारणा पनि राख्नुभएको छ,’ आचार्यले बताए।
कार्यशालामा केही टोली नेताहरूले गत निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गर्ने तथा ‘गद्दारी र फट्याइँ’ गर्ने व्यक्तिको सदस्यता नवीकरण रोक्नुपर्ने धारणा समेत राखेका छन्।
कोशी प्रदेश समूहका टोली नेता घनश्याम खतिवडालेले पार्टी निर्माणलाई प्रभावकारी बनाउन सदस्यता नवीकरणलाई तल्लो तहदेखि व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइएको बताए। उनका अनुसार कार्यकर्ताको उचित व्यवस्थापन गर्न सके संगठन र कमिटीहरूलाई थप चुस्त–दुरुस्त बनाउन सकिने निष्कर्ष प्रस्तुत गरिएको छ।
एमालेले सदस्यता नवीकरण तथा वितरणको म्याद २०८३ जेठ १५ गतेसम्म तोकेको थियो। तर निर्धारित समय सकिइसकेकाले म्याद थप्ने विषयमा समेत कार्यशालामा छलफल भएको बताइएको छ।
त्यसैगरी, डिजिटल माध्यमबाट सदस्यता वितरण र नवीकरण गर्ने पार्टीको निर्णय कार्यान्वयनका क्रममा कतिपय स्थानमा इन्टरनेट पहुँचको अभाव र प्रविधिमा अभ्यस्त नभएका कार्यकर्ताका कारण समस्या देखिएको भन्दै भौतिक रूपमा फारम भर्ने वैकल्पिक व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ।
कार्यशालामा उठेका सुझावहरूलाई समेटेर आगामी दिनमा सदस्यता व्यवस्थापन र संगठन सुदृढीकरणसम्बन्धी नीतिगत निर्णयमा उपयोग गरिने एमाले नेताहरूले बताएका छन्।
कार्यशालामा सुदूरपश्चिमबाट कृष्ण जैसी, राजधानी प्रदेशबाट नारायण सिलवाल, गण्डकी प्रदेशबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, मधेस प्रदेशबाट चन्द्रेश्वर मण्डल, काेशी प्रदेशबाट घनश्याम खतिवडा, बाग्मती प्रदेशबाट दावा दोर्जी लामा, सम्पर्क समन्वय समूहबाट अशोक ठकुरी र जनसङ्गठन समूहबाट महाराज गुरुङले समूहको प्रस्तुति राखेका थिए ।
समूहगत प्रस्तुति सकेसँगै महासचिव शंकर पोखरेलले महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी (रेस्पोन्स) गर्दै पार्टीका तर्फबाट दिशा निर्देशसहितको सम्बोधन गरेपछि समसामयिक प्रस्ताव पारित गरेर कार्यशाला सकिने प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले जानकारी दिए ।
Top of Form
Bottom of Form




प्रतिक्रिया