अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण

विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण


इलाम-विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ।

बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका तथा लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।

बैंकका अनुसार उक्त वृक्षरोपण कार्यक्रमले प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनका चुनौतीप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा समेत यस कार्यक्रमलाई लिइएको बैंकले जनाएको छ।

हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बैंकले विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरण निर्माणका लागि सरसफाइ सामग्री वितरण, अनाथालयलाई सहयोग तथा वित्तीय र डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।