काठमाडौँ-नेकपा एमाले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने भएको छ।
एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएको घटनाबारे तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेकोमा आपत्ति जनाउँदै आवश्यक परे अदालतसम्म जाने तयारीमा रहेको जनाएका छन्।
अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न एमालेले आयोगलाई आग्रह गर्ने भएको छ। महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा निष्कर्षका रूपमा विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने उल्लेख छ ।
‘मुलुकमा विकसित विभिन्न प्रकारका राजनीतिक, संवैधानिक तथा लोकतान्त्रिक आयामबारे विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालासँग छलफल, संवाद र सहकार्यमार्फत साझा धारणा निर्माण गर्न वातावरण बनाउने’, एमालेले भनेको छ।
त्यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति वा पुनरावलोकनको माग गर्ने तथा संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी गर्ने र आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ ।





प्रतिक्रिया