जनकपुरधाम-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनलाई लिएर उत्पन्न आन्तरिक विवाद थप चर्किएको छ। गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशनका क्रममा देखिएको विवाद समाधान नभएपछि असन्तुष्ट कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
असन्तुष्ट पक्षले पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन र आम कार्यकर्ताको भावनाविपरीत विवादित समितिलाई वैधता दिन खोजेको आरोप लगाएको छ।
गणेशमान चारनाथ नगरपालिकामा दुई समूहले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि विवाद झनै गहिरिएको हो। नगर सभापति राकेश यादवले दुवै पक्षका अधिवेशनहरू खारेज गरी नयाँ मिति तोकेर निष्पक्ष रूपमा पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन्।
असन्तुष्ट पक्षका अनुसार निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्म अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो। तर सो निर्देशनको अवज्ञा गर्दै प्रतिक नेपाल पक्षले एकलौटी रूपमा अधिवेशन अघि बढाएको उनीहरूको आरोप छ।
तालाबन्दीमा उत्रिएका कार्यकर्ताले पार्टीभित्र गुट–उपगुट बढेको भन्दै केन्द्रीय नेतृत्वले तत्काल हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्। उनीहरूले समस्या समाधान नभए आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन्।




प्रतिक्रिया