काठमाडौँ-एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत परोपकारी संस्था तथा सामुदायिक विद्यालयहरूलाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ।
बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित ‘हाम्रो साझा घर’लाई फर्निचर तथा बारा जिल्लाको निजगढस्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचीनगरस्थित अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
बैंकका अनुसार २०८३ जेठ २१ गते आयोजित कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले ‘हाम्रो साझा घर’की अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका थिए। उक्त संस्थाले हाल ४४ भन्दा बढी असहाय, अशक्त तथा ज्येष्ठ नागरिकलाई आश्रय, खानपान तथा हेरचाहको सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, जेठ २२ गते सम्पन्न कार्यक्रममा वीरगन्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेका थिए। सो विद्यालयमा हाल २६३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
यस्तै, सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड तथा ल्यापटप प्रदान गरेका थिए। उक्त विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन्।
बैंकले उपलब्ध गराएको सहयोगले ‘हाम्रो साझा घर’ मा आश्रित असहाय तथा ज्येष्ठ नागरिकहरूको दैनिक जीवनलाई थप सहज र स्वास्थ्यकर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयहरूलाई प्रदान गरिएका डिजिटल शैक्षिक सामग्रीले सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै विद्यार्थी सहभागिता वृद्धि गर्न तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने बैंकको अपेक्षा रहेको छ।




प्रतिक्रिया