काठमाडौं-एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि Honor (अनर) ब्राण्डका स्मार्टफोनको आधिकारिक विक्रेता सेलट्रोन नेपाल प्रालिबीच ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले Honor ब्राण्डका स्मार्टफोन शून्य प्रतिशत ब्याजदर (०% ईएमआई) मा खरिद गर्न सक्नेछन्। ग्राहकले डाउनपेमेन्टबिनै क्रेडिट कार्डमार्फत स्मार्टफोन खरिद गरी अधिकतम १२ महिनासम्मको आकर्षक मासिक किस्ताबन्दी सुविधामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र सेलट्रोन नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका थिए।
बैंकका अनुसार ग्राहकले मासिक किस्ताबन्दीका लागि बैंकको अनलाइन पोर्टलमार्फत सहज रूपमा आवेदन दिई खरिद रकमलाई ईएमआईमा रूपान्तरण गर्न सक्नेछन्।
यसैगरी, विदेशमा रहेका नेपालीहरूले पनि सेलट्रोन नेपालको वेबसाइटमार्फत एनआईसी एशिया बैंकको साइबरसोर्स भुक्तानी प्रणाली प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तलाई स्मार्टफोन उपहार पठाउन सक्नेछन्। उक्त प्रणालीमा भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
डिजिटल बैंकिङ सेवाको विस्तार र ग्राहकलाई सहज तथा किफायती भुक्तानी सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यो सहकार्यबाट ग्राहकको आर्थिक भार कम हुनुका साथै डिजिटल कारोबारलाई थप प्रोत्साहन पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।




प्रतिक्रिया