अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिने बिदा पुनर्विचारमा कोशी सरकार, मुख्यमन्त्री कार्कीले मागे सुझाव

दुई दिने बिदा पुनर्विचारमा कोशी सरकार, मुख्यमन्त्री कार्कीले मागे सुझाव


विराटनगर-कोशी प्रदेश सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई पुनर्विचार गर्ने तयारी थालेको छ। यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेका छन्।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कोशी प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालयहरूमा साताको छ दिन कार्यदिन कायम गरी शनिबार मात्र सार्वजनिक बिदा दिने विषयमा राय मागेका हुन्। मुख्यमन्त्री कार्कीले दुई दिने बिदाले अपेक्षित रूपमा खर्च कटौती र इन्धन बचतमा उल्लेखनीय उपलब्धि हासिल नभएको निष्कर्षसमेत व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले लेखेका छन्, ‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिकझैँ शनिबार मात्र बिदा) कायम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन। यहाँको सुझाव पाऊँ।’

केन्द्र सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै २०८२ चैत २२ गते मन्त्रिपरिषद्बाट सातामा दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

तर, उक्त व्यवस्थाप्रति विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको छ। सेवाग्राहीले सरकारी सेवा लिन कठिनाइ भएको, अस्पतालमा ओपीडी सेवा प्रभावित भएको तथा शिक्षण संस्थामा पठनपाठनको समय व्यवस्थापन चुनौतीपूर्ण बनेको गुनासो उठ्दै आएको छ। विद्यालयमा पाठ्यक्रम पूरा गर्न दबाब बढेको र विद्यार्थी तथा अभिभावकलाई समेत समय व्यवस्थापनमा समस्या परेको भन्दै दुई दिने बिदाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ।

यही पृष्ठभूमिमा कोशी प्रदेश सरकारले पुरानै व्यवस्था लागू गर्ने सम्भावनाबारे छलफल अघि बढाएको हो।

Top of Form

Bottom of Form