एजेन्सी-दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ भन्दा बढी घाइते भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ७ः३७ बजे गएको थियो। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स) का अनुसार भूकम्पको केन्द्रविन्दु मिन्डानाओ टापुको जनरल स्यान्टोस सहरबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा, जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो।
अधिकारीहरूका अनुसार मुख्य भूकम्पपछि लगातार परकम्पहरू गइरहेका छन्। फिभोल्क्सले हालसम्म १६ वटा परकम्प रेकर्ड गरेको जनाएको छ, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ।
भूकम्पलगत्तै मिन्डानाओ क्षेत्रका केही तटीय इलाकामा सुनामीको जोखिम देखिएपछि स्थानीय बासिन्दालाई सुरक्षित तथा उच्च स्थानतर्फ जान आग्रह गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार भूकम्पपछि मिन्डानाओ क्षेत्रमा विद्युत् आपूर्ति समेत प्रभावित भएको छ।
यसैबीच, भूकम्पको प्रभाव छिमेकी इन्डोनेसियामा समेत देखिएको छ। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार उत्तरी मलुकु प्रान्तका केदी, उलु सियाउ र मेलोन्गुआने क्षेत्रमा सुनामीका साना लहरहरू रेकर्ड गरिएका छन्। ती लहरहरूको उचाइ ०.०९ मिटरदेखि ०.१९ मिटरसम्म रहेको जनाइएको छ।
जापानले पनि सम्भावित सुनामीलाई ध्यानमा राख्दै चेतावनी जारी गरेको छ। जापानी अधिकारीहरूले दक्षिणी ओकिनावा टापु तथा प्रशान्त महासागरीय तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र समुद्री तटबाट टाढा बस्न आग्रह गरेका छन्। त्यहाँ १ मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने अनुमान गरिएको छ।
भूकम्पबाट भएको भौतिक क्षतिको पूर्ण विवरण भने अझै सार्वजनिक भइसकेको छैन। उद्धार तथा राहत कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।






प्रतिक्रिया