दाङ-भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली सिफारिस गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, भारतीय नागरिक ४४ वर्षीय आलम जोल्हा, वडासचिव राजकुमार कहार र कार्यालय सहयोगी मिना चौधरी रहेका छन्।
प्रहरीका अनुसार भारतीय नागरिक आलम जोल्हालाई स्थानीय बासिन्दा भएको भनी झुटो सिफारिस तयार गरी नागरिकता बनाउन सहयोग गरिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। वडाध्यक्ष अहिरले जोल्हा आफ्नो वडाका स्थानीय नागरिक भएको भन्दै सिफारिस दिएको आरोप लगाइएको छ।
इलाका प्रहरी कार्यालय गढवाले चारै जनालाई पक्राउ गरी नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार पक्राउ परेकाविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
घटनाबारे थप तथ्य र संलग्नताको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया