हेटौँडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै छ। हेटौँडा-१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना हुनेछ ।
प्रदेशका १३ जिल्लाका करिव १ हजार ५०० प्रतिनिधि सहभागी हुने उक्त अधिवेशन मंगलबार बिहानैबाट तयारी भइरहेको छ । कार्यक्रम स्थलमा नेता तथा कार्यकर्ताको आवागमन भइरहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।
सभापति लामिछाने सहभागी नहुने
अधिवेशन उद्घाटन गर्न रास्वपा सभापति रवि लामिछाने हेटौँडा नआउने भएका छन् । मंगलबार हेटौँडामा हुने भनिएको बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सभापति लामिछाने आउने भनिए पनि अन्तिममा उनी नआउने भएका हुन्।
अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय समितिका सदस्य पुकार बम, राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौँडा आइसकेका छन् । प्रतिनिधि सभाको बैठक भएकाले सभापति लामिछाने आउन नसक्ने रास्वपा स्रोतले जानकारी दियो । तर, सभापति कार्यक्रममा आउने नआउने बारेमा आफूहरूलाई पक्का जानकारी नभएको भन्दै बागमती प्रदेश सभापति अत्युत्तम लामिछाने र मकवानपुर जिल्ला सभापति सञ्जीव पाठकले अनभिज्ञता प्रकट गरे ।






प्रतिक्रिया