अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिएपछि धनादेवीको परिवार बिचल्लीमा

वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिएपछि धनादेवीको परिवार बिचल्लीमा


धनगढी-कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामी अहिले गहिरो पीडामा छिन्। परिवारको पेट पाल्ने एउटै आधार बनेको पुरानो टेम्पो डिभिजन वन कार्यालय धनगढीको टोलीले भीरबाट खसालिदिएपछि उनको परिवारको जीवन नै संकटमा परेको छ।

धामी परिवारका लागि उक्त टेम्पो केवल एउटा सवारी साधन थिएन, त्यो उनीहरूको दैनिकी चलाउने माध्यम, छोराछोरीको भविष्यको आशा र भोकमरीसँग लड्ने हतियार थियो। तर केही क्षणमै त्यो सहारा भीरमा खसेर चकनाचुर बन्यो।

घटनापछि भक्कानिँदै धनादेवीले भनिन्, ‘सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भनेर धेरै अनुरोध गर्‍यौँ। तर कसैले सुनेन। हाम्रो दुःख, हाम्रो अवस्था कसैले बुझेन। अहिले टेम्पो कामै नलाग्ने भयो, परिवार कसरी पाल्ने भन्ने चिन्ताले रातभर निद्रा लाग्दैन।’

प्रत्यक्षदर्शीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको ‘जीएसए’ टेम्पोबाट सामान निकालिएपछि वन कर्मचारीहरूले त्यसलाई भीरतर्फ धकेलेका थिए। भीरबाट खसेपछि टेम्पो पूर्ण रूपमा ध्वस्त भएको छ।

धनादेवीको आँखाबाट निरन्तर आँसु बगिरहेको छ। उनी बारम्बार एउटै प्रश्न सोध्छिन्— ‘यदि मबाट गल्ती भएको थियो भने कानुन अनुसार कारबाही गर्न सकिन्थ्यो। तर हाम्रो परिवारको रोजीरोटीको आधार नै नष्ट गर्ने अधिकार कसलाई छ ?’

यता डिभिजन वन कार्यालय धनगढीले वन अतिक्रमण हटाउने अभियानअन्तर्गत ४७ वटा अवैध संरचना हटाइएको जनाएको छ। कार्यालयका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएकाले कारबाही गरिएको दाबी गरेका छन्।

तर सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोले धेरैलाई स्तब्ध बनाएको छ। कानुन कार्यान्वयनको नाममा गरिब परिवारको सम्पत्तिमाथि भएको व्यवहारलाई लिएर चौतर्फी आलोचना भइरहेको छ। धेरैले राज्यका निकायले कानुन लागू गर्दा मानवीय संवेदनशीलता पनि उत्तिकै आवश्यक हुने टिप्पणी गरेका छन्।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाबारे छानबिन सुरु गरिएको जानकारी दिएका छन्।

अहिले धनादेवीको परिवार क्षतिग्रस्त टेम्पोतर्फ टोलाइरहेको छ। उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता टेम्पो कसरी बनाउने भन्ने होइन, भोलिको बिहान परिवारलाई के खुवाउने भन्ने छ। राज्यको कारबाहीले एउटा टेम्पो मात्र भीरबाट खसालेन, एउटा गरिब परिवारको आशा, सपना र संघर्षमाथि पनि गहिरो चोट पुर्‍याएको अनुभूति स्थानीयले गरिरहेका छन्।

Skip This