झापा-जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारक रहेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार सडक र सवारी साधनको चुस्तताभन्दा चालकको व्यवहारका कारण जिल्लाभर सडक दुर्घटनाको ग्राफ उकालो लागेको हो।
प्रहरीको जेठ महिनाको मासिक प्रगति प्रतिवेदनअनुसार समीक्षा अवधिमा जिल्लाभर कूल १७४ वटा सडक दुर्घटना भएका छन्। जसमध्य १५४ वटा दुर्घटना चालककै चरम लापर्वाहीका कारण भएको देखिएको छ। यसको तुलनामा सडकको दूरावस्थाका कारण पाँच वटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन वटा मात्रै दुर्घटना भएका छन् । यसबाहेक यात्रुको गल्तीका कारण आठ वटा, छाडा चौपायाको कारण एउटा र तीन वटा अन्य कारण सवारी दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए ।
यस अवधिमा भएका सवारी दुर्घटनाहरूमा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षालाई मध्यनजर गर्दै झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरेको सवारी जाँच अभियानअन्तर्गत नियमविपरीत चलेका २ हजार ७३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु २८ लाख ३३ हजार ९१ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया