झापा- झापाको कनकाई नगरपालिका-५ तुलसीवारीस्थित भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे.४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे.१त ७४०४ नम्बरको ट्याक्टर ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइते तीनै जनालाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएको थियो।
उपचारका क्रममा चिकित्सकले समिर अली र उनकी छोरी हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते भएकी नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर, मोटरसाइकल तथा ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






प्रतिक्रिया