विराटनगर-अविरल वर्षापछि आएको बाढी र पहिरोले ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा व्यापक भौतिक क्षति पुर्याएको छ। खोलामा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोका कारण पुल, घर तथा गोठमा क्षति पुगेको छ भने केही परिवार विस्थापित भएका छन्।
गाउँपालिकाभित्र बग्ने खानी खोला र बांगे खोलामा आएको बाढीले विभिन्न वडामा असर पुर्याएको हो। खानी खोलाको बाढीले वडा नं. ३ र ५ जोड्ने पक्की पुलमा क्षति पुर्याएको स्थानीयले बताएका छन्।
बांगे खोलामा आएको बाढीले वडा नं. २ निवासी टीका भुजेलको भैँसीसहितको गोठ बगाएको छ। सोही वडाका मननारायण श्रेष्ठको गोठ पनि बाढीले बगाएको छ भने उनका दुई वटा गोरु हराइरहेका छन्। वडा नं. ३ का मनबहादुर सार्कीको खरले छाएको गोठ बाढीले बगाउँदा तीन वटा गोरु बेपत्ता भएका छन्।
यता, वडा नं. १ मा पहिरोले स्थानीय रामकुमार राईको दुईतले घरको अगाडिको भागमा क्षति पुर्याएको छ। जोखिम बढेपछि उनको परिवार सुरक्षित स्थानमा सरेको छ। त्यस्तै जनकबहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको पर्खाल भत्किएको छ। उनको परिवार पनि घर छाडेर आफन्तकोमा आश्रय लिएर बसिरहेको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। क्षतिको विवरण संकलन र आवश्यक उद्धार तथा राहतका लागि प्रहरी टोली घटनास्थलमा खटिएको जनाइएको छ। स्थानीय तहले थप क्षतिको आकलन गरिरहेको छ।






प्रतिक्रिया