झापाको बिर्तामोड नगरपालिका-५ सुकुम्बासी लाइनमा आज बिहान पानीको तीव्र बहावका कारण एक तीनतले पक्की घर कोल्टिएको छ। उक्त घर सुगम पैनीमा आएको पानीको बहावले जगमुनिको माटो कटान गरेपछि कोल्टिएको हो। लगातारको वर्षापछि पैनीमा पानीको सतह बढ्दै गएर घरको जग नै खोलेपछि भवन जोखिमपूर्ण अवस्थामा पुगेको स्थानीयले बताएका छन्।
घर कोल्टिएपछि आसपासका बासिन्दामा त्रास फैलिएको छ। घटनापछि स्थानीयवासी र सम्बन्धित निकायले क्षेत्रको निरीक्षण गरिरहेका छन्। मानवीय क्षतिको भने हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।
पानीको कटान अझै जारी रहेकाले थप क्षति हुन सक्ने भन्दै स्थानीयले तत्काल नियन्त्रण तथा संरक्षणका उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले पनि प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।






प्रतिक्रिया