काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा नियन्त्रणमा रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल सम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ।
उपाध्यक्ष पौडेलकी श्रीमती दोमाया पौडेलले उनीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै २०८३ असार १० गते बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि २०८३ असार ११ गते बिहीबार न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासमा सुनुवाइ भएको हो।
सुनुवाइका क्रममा दुवै पक्षको बहस सकिएको र इजलासले केहीबेरमा आदेश सुनाउने जनाइएको छ। रिट निवेदनमा पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहा गर्न आदेश जारी गर्न माग गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ।
यसअघि विशेष अदालत ले अनुसन्धानका लागि पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिँदै म्याद थप गरेको थियो। अब सर्वोच्च अदालतबाट आउने आदेशले उनको हिरासतको वैधानिकताबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।






प्रतिक्रिया