काठमाडौँ-नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने दायित्वबाट विमुख हुनेबित्तिकै त्यसको औचित्य समाप्त हुने टिप्पणी गरे।
सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्नेमा आफू सहमत रहेको उल्लेख गर्दै उनले वास्तविक भूमिहीन, श्रमजीवी तथा विपन्न नागरिकको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। राज्यले कमजोर र पीडित वर्गको संरक्षण गर्न नसके आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने उनको भनाइ थियो।
नेता रावलले सरकारी जग्गा मिच्नेहरूलाई कारबाही हुनुपर्ने तर वास्तविक पीडित र श्रमजीवी नागरिकलाई संरक्षण र व्यवस्थापन गर्न राज्य अग्रसर हुनुपर्ने धारणा राखे। सीमाको रक्षा र जनताको सुरक्षा राज्यको आधारभूत कर्तव्य भएकाले त्यसबाट च्युत हुने सरकार जनताप्रति उत्तरदायी रहन नसक्ने उनले बताए।
कार्यक्रममा बोल्दै उनले नेपालको संविधानमा परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा राष्ट्रिय हितका आधारमा सञ्चालन गरिने व्यवस्था भए पनि व्यवहारमा त्यसको पूर्ण पालना हुन नसकेको आरोप लगाए।
संविधान निर्माणमा ठूलो समय र स्रोत खर्च गरिएको स्मरण गराउँदै रावलले विगतका सन्धिहरूको पुनरावलोकन गर्ने तथा असमान सन्धि नगर्ने संवैधानिक प्रतिबद्धता भए पनि त्यसअनुसार काम हुन नसकेको दाबी गरे। उनले माथिल्लो कर्णाली र महाकालीसँग सम्बन्धित सम्झौताहरूको उदाहरण दिँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।






प्रतिक्रिया