काठमाडौं-दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ। सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो।
कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ।
दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरी सडकतर्फ ल्याउने प्रयास गरिरहेको छ।
गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।






प्रतिक्रिया