काठमाडौँ-नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण झन् संकुचित बन्दै गएको आरोप लगाएकी छन्।
आइतबार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि सरकारका पछिल्ला गतिविधिले त्यसको अनुभूति हुन नसकेको बताएकी हुन्।
अध्यक्ष शर्माले सरकार गठन भएको १०० दिनको अवधिमा सञ्चार क्षेत्रप्रति सकारात्मक परिवर्तन देखिन नसकेको उल्लेख गर्दै पत्रकारहरूको सूचनामा पहुँचसमेत सीमित बन्दै गएको दाबी गरिन्।
शर्माका अनुसार सिंहदरबारभित्र मन्त्रालयसम्म पत्रकार पुग्न सके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म प्रवेश गर्न नपाउने अवस्था रहेको छ। संसदीय समितिहरूमा समेत पत्रकारको सहज प्रवेशमा अवरोध रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
उनले राज्यले राजनीतिक र आर्थिक केन्द्रमार्फत प्रेसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको महसुस भएको बताउँदै अभिव्यक्ति स्वतन्त्रता संकुचित हुनु लोकतान्त्रिक व्यवस्थाका लागि चिन्ताको विषय भएको उल्लेख गरिन्।
‘सरकारले १०० दिन पूरा गरिसकेको छ। यस अवधिमा मिडियाप्रति हेर्ने दृष्टिकोण अझ बढी संकुचित भएको महसुस गरेका छौँ। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म पनि पत्रकार जान नपाउने अवस्था छ। संसदीय समितिहरूमा पनि सहज रूपमा प्रवेश गर्न सक्ने वातावरण छैन,’ उनले भनिन्।
अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत सूचना माग्ने, प्राप्त गर्ने, तथ्यको परीक्षण गरी समाचार प्रकाशन तथा प्रसारण गर्ने अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै सरकारले सञ्चारमाध्यमप्रति उदार र लोकतान्त्रिक व्यवहार अपनाउनुपर्ने धारणा राखिन्।






प्रतिक्रिया