काठमाडौं-नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी बनाउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक नीतिसम्बन्धी छलफलमा बोल्दै अधिकारीले वर्तमान आर्थिक सूचकहरू सकारात्मक रहेकाले मौद्रिक नीतिलाई थप कसिलो बनाइरहन आवश्यक नरहेको बताएका हुन्।
पूर्वगभर्नर अधिकारीले देशको मूल्य स्थिति नियन्त्रणमा रहेको तथा बाह्य क्षेत्रको स्थायित्व पनि बलियो अवस्थामा रहेकाले सहज मौद्रिक नीति ल्याउनु स्वाभाविक हुने धारणा राखे। ‘अहिलेको स्थितिमा मौद्रिक नीति लचिलो र विस्तारकारी हुनु स्वाभाविक छ। नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउनुपर्ने कुनै आवश्यकता देखिँदैन,’ पूर्वगभर्नर अधिकारीले भने ।
पूर्वगभर्नर अधिकारीले मौद्रिक नीति प्राविधिक र अनुमानयोग्य विषय भएकाले हालको आर्थिक आधार (फन्डामेन्टल) मजबुत रहेकाले आगामी नीति सहज हुने विश्वास व्यक्त गरे। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै सुरक्षित र मजबुत रहेको उल्लेख गर्दै अल्पकालीन लाभका लागि नियमहरू खुकुलो बनाएर वित्तीय प्रणालीलाई जोखिममा पार्न नहुने बताए।
उनले राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनसँगै वित्तीय क्षेत्र नीतिमार्फत आन्तरिक उत्पादन वृद्धि गर्न ऊर्जा, कृषि तथा साना उद्यममा निश्चित प्रतिशत लगानी सुनिश्चित गर्ने व्यवस्था गर्दै आएको स्मरण गराए। आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने लक्ष्यका लागि यस्ता नीतिहरू आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वगभर्नर अधिकारीले बजारमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको भए पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेको बताए। उनले राष्ट्र बैंकको स्वायत्तता कायम राख्नुपर्नेमा जोड दिँदै अर्थ समिति र संसद्लाई केन्द्रीय बैंकलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरे।
‘केन्द्रीय बैंक जति स्वायत्त र स्वतन्त्र हुन्छ, त्यति नै अर्थतन्त्र बलियो हुन्छ र अर्थ मन्त्रालयलाई पनि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘संसदीय समितिबाट आउने सुझावहरू निर्देशनभन्दा मार्गदर्शनका रूपमा आए राष्ट्र बैंकलाई आफ्नो प्राविधिक काम गर्न थप सहज हुनेछ।’






प्रतिक्रिया