काठमाडौं-प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले बालेन्द्र शाह नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ।
सरकारको १०० दिने कार्यप्रगतिको समीक्षा गर्दै प्रलोपाले आइतबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको हो।
पार्टीले सरकारका प्रारम्भिक केही प्रयास सकारात्मक देखिए पनि समग्र कार्यसम्पादन सन्तोषजनक नरहेको जनाएको छ। प्रलोपाले शक्ति केन्द्रीकरण, राजनीतिक असहमतिप्रति असहिष्णुता, संवैधानिक संस्थाहरूको भूमिकालाई सीमित बनाउने अभ्यास तथा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने प्रवृत्तिले सरकार अधिनायकवाद उन्मुख यात्रामा अघि बढिरहेको संकेत गरेको उल्लेख गरेको छ।
‘यस्तो प्रवृत्ति संविधानको भावना र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रलोपाले प्रधानमन्त्रीले दिएको ‘भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ। उक्त अभिव्यक्ति गैरजिम्मेवार, राष्ट्रहितविपरीत तथा नेपालको राष्ट्रिय अडान कमजोर बनाउने खालको रहेको पार्टीको ठहर छ।
यस विषयमा सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि प्रलोपाले गरेको छ।
त्यसैगरी पार्टीले सरकारसमक्ष पाँच बुँदे मागसमेत अघि सारेको छ। प्रलोपाले राष्ट्रियता र सीमासम्बन्धी विषयमा स्पष्ट तथा राष्ट्रहितअनुकूल अडान सार्वजनिक गर्न, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताविरोधी कदम रोक्न, सुकुम्बासी तथा उत्पीडित समुदायमाथिको अन्यायपूर्ण व्यवहार अन्त्य गरी सम्मानजनक पुनर्स्थापना सुनिश्चित गर्न, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र सामाजिक न्यायलाई प्राथमिकता दिन तथा प्रेस स्वतन्त्रता र विधिको शासनको पूर्ण सम्मान गर्न माग गरेको छ।
पार्टीले लोकतान्त्रिक मूल्य-मान्यता, संविधानको मर्म तथा नागरिक अधिकारको संरक्षणतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएको छ।






प्रतिक्रिया