अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग पूर्ण रूपमा बन्द

बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग पूर्ण रूपमा बन्द


काभ्रे-निरन्तरको वर्षापछि रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा वीपी राजमार्गको काभ्रे खण्ड आइतबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोशी खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढेपछि राजमार्गको घुम्ती र चौकीडाँडा क्षेत्रको सडकमा क्षति पुगेको छ। डाइभर्सन बगाएसँगै सुरक्षाका दृष्टिले सबै प्रकारका सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार शनिबारदेखि बढ्न थालेको नदीको जलसतह आइतबार अपराह्न परेको अविरल वर्षापछि अझै बढ्दा बाढीले डाइभर्सन बगाएको हो।

उनले राजमार्गमा तत्काल सवारी सञ्चालन सम्भव नभएकाले काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारी साधनलाई काभ्रेभञ्ज्याङ तथा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारी साधनलाई मंगलटार र नेपालथोक क्षेत्रमा रोकिएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अधिकारीले वर्षा रोकिएर सडकको अवस्था सामान्य भएमा सोमबार बिहानदेखि सवारी सञ्चालन गर्ने प्रयास गरिने बताए। तर वर्षा निरन्तर जारी रहे वा थप क्षति देखिए राजमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेबारे तत्काल भन्न नसकिने उनले स्पष्ट पारे।

प्रशासनले अत्यावश्यक कामबाहेक वीपी राजमार्ग प्रयोग नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Skip This