अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी दबाबका कारण १३ देशले गरे खामेनेईको अन्तिम संस्कार बहिष्कार

अमेरिकी दबाबका कारण १३ देशले गरे खामेनेईको अन्तिम संस्कार बहिष्कार


काठमाडौं – अमेरिकाले इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दबाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दाबी गरेको छ ।

अमेरिकी कूटनीतिक दबाबका कारण कम्तीमा १३ वटा देशले तेहरानमा भइरहेको इरानका अली खामेनेईको अन्तिम संस्कार कार्यक्रममा आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका समाचारमा उल्लेख छ ।

तस्नीमका अनुसार, मध्य तेहरानस्थित इमाम खुमैनी ग्रयान्ड मोसल्लामा विभिन्न देशका प्रतिनिधिमण्डलहरूको उपस्थितिमा भइरहेको यस समारोहमा विदेशी सहभागिता रोक्न वा निरुत्साहित गर्न वासिंगटनले विगत केही दिनदेखि व्यापक कूटनीतिक अभियान सञ्चालन गरेको बताइएको छ ।

रिपोर्टअनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जुन २६ मा अमेरिकी दूतावास र कूटनीतिक नियोगहरूलाई एउटा गोप्य निर्देशन जारी गरेका थिए । उक्त निर्देशनमा अमेरिकी कूटनीतिज्ञहरूलाई आफ्ना आयोजक देशहरूलाई समारोहमा सहभागी हुनबाट रोक्न उपलब्ध सबै माध्यम प्रयोग गर्न भनिएको थियो ।

उक्त समारोहमा सहभागी हुनुलाई अमेरिकाले आफ्नो हितविपरीतको शत्रुतापूर्ण कदमका रूपमा लिने र यसले वासिङ्टनसँगको द्विपक्षीय सम्बन्धमा गम्भीर असर पार्न सक्ने चेतावनी पनि दिइएको बताइएको छ ।

स्रोतले तस्निमलाई दिएको जानकारीअनुसार, अफ्रिकाका थुप्रै्र देशमा कार्यरत अमेरिकी राजदूतहरूले समारोहमा सहभागी भए अमेरिकाले उपलब्ध गराउँदै आएको विकास सहायता कटौती हुनसक्ने चेतावनी दिएका थिए ।

दुईजना अज्ञात अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै रिपोर्टमा विदेशमन्त्री रुबियोले कम्तीमा पाँचवटा अरब देशका विदेशमन्त्रीसँग यस विषयमा व्यक्तिगत रूपमा कुराकानी गरेको दाबी पनि गरिएको छ ।

विभिन्न मूल्यांकनलाई उद्धृत गर्दै अमेरिकी दबाबपछि पूर्वी युरोपका तीन, अफ्रिकाका पाँच, फारसको खाडी क्षेत्रका दुई अरब देश तथा पूर्वी एसियाका दुई प्रमुख देशसहित कम्तीमा १३ देशले आफ्नो सहभागिता फिर्ता लिएका वा प्रतिनिधिमण्डलको स्तर घटाएका रिपोर्टमा भनिएको छ ।

कतिपय देशहरूले कूटनीतिक माध्यमबाट, वा जेनेभा र न्युयोर्कस्थित आफ्ना नियोग तथा मध्यस्थकर्तामार्फत कार्यक्रममा उपस्थित हुन नसक्नुको कारण स्पष्ट पारेका थिए । केही देशहरूले तल्लो तहको प्रतिनिधिमण्डल पठाउने प्रस्ताव गरे पनि इरानी अधिकारीहरूले त्यसलाई स्वीकार नगरेको जनाइएको छ ।

तेहरानमा शोक र विदाइ समारोह जारी
विदाइ समारोहको दोस्रो दिन आइतबार तेहरानमा अली खामेनेई र उनका परिवारका चार सदस्यको सार्वजनिक अन्त्येष्टि प्रार्थना सम्पन्न भएको छ । मध्य तेहरानस्थित इमाम खुमैनी ग्रयान्ड मोसल्ला वरपरका सडकमा लाखौँ मानिसको भीड जम्मा भएको थियो । त्यहाँ शनिबारदेखि खामेनेईको पार्थिव शरीर सार्वजनिक श्रद्धाञ्जली र औपचारिक विदाइका लागि राखिएको छ ।

आयातोल्लाह अली खामेनेईको यसै वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो ।

Skip This