काठमाडौँ- मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण विभिन्न मुख्य राजमार्ग र सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।
सोमबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी हुँदै सञ्चालन हुने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै जेठ २२ गतेदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मीस्थित कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द छ। जेठ १५ गतेदेखि बन्द रहेको उक्त सडक यही महिनाको २५ गतेसम्म सञ्चालनमा नआउने जनाइएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका–६ मा असार १७ गते आएको बाढीले रिजेगार्ड खोलामा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
गण्डकी प्रदेशमा असार २१ गते गएको पहिरोले पर्वतको फलेवास नगरपालिका–९ उल्लेरीस्थित भंगरा–थापाठाना भित्री सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१४ डुम्रिभञ्ज्याङस्थित वालिङ–हुवास भित्री सडक भने पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–१ खोलावाङमा असार २० गते गएको पहिरोका कारण घोराही–रुकुम सहिद मार्ग प्रभावित बने पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
त्यस्तै, कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा वैशाख १२ गते आएको बाढीले अवरुद्ध बनाएको मध्य पहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सम्बन्धित निकायले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।






प्रतिक्रिया