काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसको नेतृत्वको सरकारका मन्त्रीहरूले चुनाव अघि र पछि फरक फरक कुरा गरेर सस्तो लोकप्रियता ‘पपुलिजम’ को रूप देखाएको बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले रास्वपाका नेताहरूका चुनावअघिका प्रतिबद्धता र सरकारमा पुगेपछिका अभिव्यक्तिलाई तुलना गरेका हुन्।
महासचिव पोखरेलले बालेन्द्र शाहले चुनावका बेला ‘गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ, यही हो हाम्रो एजेन्डा’ भनेको स्मरण गराएका छन्।
सरकारमा सहभागी भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘३५ सय रुपैयाँ बीमा शुल्क लिएर १ लाखको उपचार गराउन सम्भव छैन’ भन्दै तल्लो तहका नागरिकलाई सहयोग गर्न शिक्षा र स्वास्थ्य कर ल्याइएको अभिव्यक्ति दिएको उल्लेख गरेका छन्।
महासचिव पोखरेलले वर्तमान सरकारले तल्लो तहको नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर ल्याइएको हो भन्दै व्यङ्ग्य गरेका छन् ।
‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि ?’ प्रश्न गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘अचम्म त के छ भने, जनभावना विपरीतका यस्ता कुराको जनस्तरबाट विरोध हुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाह भन्दैछन्- ढुक्क हुनुस्, देश बन्छ !’
यी दुई भनाइलाई तुलना गर्दै पोखरेलले चुनावअघि र चुनावपछिका अभिव्यक्तिबीचको अन्तरले ‘पपुलिजम’ को वास्तविक स्वरूप उजागर भएको दाबी गरेका छन्। उनले ‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रष्ट भयो होला नि ?’ भन्दै व्यंग्य गरेका छन्।







प्रतिक्रिया