अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इमाडोलमा युवतीमाथि अश्लील दुर्व्यवहार, भिडियो सार्वजनिक भएपछि प्रहरीले थाल्यो अनुसन्धान

इमाडोलमा युवतीमाथि अश्लील दुर्व्यवहार, भिडियो सार्वजनिक भएपछि प्रहरीले थाल्यो अनुसन्धान


काठमाडौँ-ललितपुरको इमाडोल क्षेत्रमा एक युवतीमाथि सार्वजनिक सडकमा अश्लील दुर्व्यवहार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आरोपीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ करिब ६ः३० बजे पीडित युवतीले घटनाको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक गरेकी थिइन्। छोटो समयमै भिडियो लाखौँ पटक हेरिएको छ। भिडियोमा एक पुरुषले एक्लै हिँडिरहेकी युवतीलाई लक्षित गर्दै सार्वजनिक स्थलमै कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गरेको आरोप लगाइएको छ।

युवतीले घटनापछि तत्काल आफ्नो मोबाइलबाट भिडियो खिच्दै आरोपीलाई पछ्याएकी थिइन्। भिडियोमा उनले सहयोगका लागि आग्रह गरेको र प्रतिरोध जनाउँदै आरोपीलाई भाग्न नदिने प्रयास गरेको देखिन्छ। त्यसक्रममा एक जना सर्वसाधारणले आरोपीलाई नियन्त्रणमा लिएका थिए। भिडियोमा आरोपीले पीडितसँग माफी माग्दै ‘सरी’ भनेको र खुट्टा ढोगेको दृश्य पनि देखिन्छ।

पीडितले प्रहरी प्रभाग इमाडोलमा निवेदन दर्ता गराएकी छन्। निवेदनका आधारमा घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरी भिडियोमा देखिएका व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको छ। पक्राउ परेपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

पीडित युवतीले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गर्नुको उद्देश्य यस्ता यौनजन्य दुर्व्यवहारलाई सामान्य रूपमा लिन नहुने सन्देश दिनु रहेको उल्लेख गरेकी छन्। उनले महिलाको पहिरनलाई यस्ता घटनासँग जोड्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै सार्वजनिक स्थान सबैका लागि सुरक्षित हुनुपर्ने धारणा पनि राखेकी छन्।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले युवतीले प्रमाण सुरक्षित गर्दै साहसपूर्वक आवाज उठाएको कदमको प्रशंसा गरेका छन्। साथै, धेरै महिलाले आफूले विगतमा यस्तै प्रकृतिका दुर्व्यवहार भोगे पनि डर र सामाजिक दबाबका कारण सार्वजनिक गर्न नसकेको अनुभव साझा गरेका छन्।

यस घटनाले सार्वजनिक स्थानमा महिला सुरक्षाको अवस्था, यौनजन्य दुर्व्यवहारविरुद्ध प्रतिरोध र प्रविधिलाई प्रमाण संकलनका लागि जिम्मेवारीपूर्वक प्रयोग गर्ने विषयमा व्यापक बहस सुरु गराएको छ।

Skip This