झापा-सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् ।
आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे ।
भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए ।
सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ ।
गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए । सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन् ।
गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोस्टको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको जानकारी छ ।
त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे । त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिए ।






प्रतिक्रिया