अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीकापुर अस्पतालमै प्रयोगशाला इञ्चार्ज र फिजियोथेरापिष्टबीच कुटाकुट

टीकापुर अस्पतालमै प्रयोगशाला इञ्चार्ज र फिजियोथेरापिष्टबीच कुटाकुट


धनगढी-कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा कार्यरत प्रयोगशाला इञ्चार्ज उमेश बजगाई र फिजियोथेरापिष्ट अनिल तिवारीबीच कार्यालयभित्रै कुटाकुट भएको घटना सार्वजनिक भएको छ।

मंगलबार दिउँसो करिब २ बजे अस्पतालको प्रशासन कक्षमा दुई कर्मचारीबीच विवाद हुँदा हात हालाहालको अवस्था सिर्जना भएको हो। घटनामा प्रयोगशाला इञ्चार्ज बजगाईमाथि कुटपिट भएको भन्दै अस्पताल प्रशासनले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्राचार गरेको जनाएको छ।

बजगाईका अनुसार उनी कामको सिलसिलामा प्रशासन कक्षमा पुगेका बेला तिवारी एक्कासी आएर आफूमाथि कुटपिट गरेका थिए। ‘म कामका लागि प्रशासनमा गएको थिएँ, एक्कासी आएर उहाँले ममाथि कुटपिट गर्नुभयो,’ बजगाईले बताए।

यता, फिजियोथेरापिष्ट तिवारीले भने अस्पतालमा भइरहेको भनिएको अनियमितताबारे प्रशासनसँग कुरा गर्ने क्रममा बजगाईले गाली–गलौज गरेपछि आफू आवेशमा आएको दाबी गरेका छन्। उनले प्रयोगशालामा विदाको दिन पनि सेवा सञ्चालन गरेको देखाएर भत्ता लिने, रिएजेन्ट महँगो मूल्यमा खरिद गर्ने लगायतका विषयमा प्रश्न उठाउँदै आएकाे बताएका छन्।

अस्पताल प्रशासनका अनुसार घटनाबारे प्राप्त निवेदनका आधारमा सिसिटिभी फुटेजसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई जानकारी गराइसकिएको छ।

सिसिटिभी फुटेजमा तिवारी दौडिएर आएर बजगाईमाथि प्रहार गरेको देखिने तथा त्यसपछि बजगाईले पनि प्रतिकार गरेको देखिएको स्रोतले जनाएको छ। केही समयपछि त्यहाँ उपस्थित अन्य कर्मचारीहरूले दुवैलाई छुट्याएका थिए।

इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै तथ्यगत अध्ययनपछि कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।

Skip This