काठमाडौँ-भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ। कर्मचारीको आचरणलाई निष्पक्ष, अनुशासित, सदाचारयुक्त र मर्यादित बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आचारसंहिता जारी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्री प्रतिभा रावलको २०८३ असार १६ गतेको निर्णयबाट स्वीकृत उक्त आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो। मन्त्रालयले यसलाई सबै महाशाखा तथा मातहतका निकायहरूमा कार्यान्वयनका लागि पठाइसकेको जनाएको छ।
आचारसंहिताले कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा विशेष कडाइ गरेको छ। कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू हुने छैन।

त्यसैगरी, सामाजिक सञ्जाल प्रयोग गर्दा सार्वजनिक सेवाको मर्यादा र विश्वसनीयतामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने उल्लेख गरिएको छ। सरकारको नीति तथा कार्यक्रमविपरीत लेख, रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न पनि रोक लगाइएको छ।
आचारसंहितामा सेवाग्राहीसँग शिष्ट, मर्यादित र समान व्यवहार गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै पनि प्रकारको पक्षपात, पूर्वाग्रह वा मोहलाहिजा नगरी कार्यसम्पादन गर्नुपर्ने तथा धर्म, वर्ण, जात, लिङ्ग वा अन्य कुनै आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ।
कर्मचारीलाई कार्यस्थलभन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ। साथै, कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न, पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन तथा सरकारी स्रोत–साधन निजी प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्नेछ। कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने लगायतका अमर्यादित गतिविधिमा संलग्न हुन पनि निषेध गरिएको छ।
त्यस्तै, सरकारी प्रतीकचिन्ह, छाप, इमेल, पासवर्ड, कागजात तथा सूचना प्रणालीको सुरक्षा गर्ने जिम्मेवारी सम्बन्धित कर्मचारीकै हुने उल्लेख गर्दै सरकारी सम्पत्ति र उपकरणको दुरुपयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
मन्त्रालयले आचारसंहिताको कार्यान्वयनको नियमित अनुगमन सचिव वा निजले तोकेको अधिकृतमार्फत गरिने जनाएको छ। आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
यस्तो छ आचारसंहिताको पूर्णपाठ :






प्रतिक्रिया