काठमाडौँ–नेकपा एमाले निकट युवाहरूले पार्टी रूपान्तरण र पुनःसंरचनाका लागि सञ्चालन गरेको ‘पुनर्जागरण अभियान-२०८२’ अन्तर्गतको मत सर्वेक्षणको नतिजा सार्वजनिक गरेका छन्।
२०८३ असार १२ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणमा स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकहरूको सहभागिता रहेको थियो। सर्वेक्षणका लागि गुगल फर्ममार्फत खुला रूपमा १८ वटा प्रश्न राखिएको थियो।
अभियानकर्ता गजेन्द्र थपलियाका अनुसार नेपालसहित विश्वका १४ राष्ट्रमा रहेका नेपाली नागरिकहरूले सर्वेक्षणमा सहभागिता जनाएका छन्। सर्वेक्षणबाट सङ्कलित सुझाव तथा निष्कर्ष समेटिएको प्रतिवेदन बिहीबार एमाले महासचिव तथा पार्टीको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेललाई बुझाइएको छ।
अभियानको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण तथा आन्तरिक लोकतान्त्रीकरणका विषयमा कार्यकर्ता र शुभेच्छुकहरूको प्रत्यक्ष धारणा सङ्कलन गर्नु रहेको अभियानकर्ताहरूले बताएका छन्।
सार्वजनिक नतिजाअनुसार सर्वेक्षणमा सबैभन्दा बढी ४० देखि ६० वर्ष उमेर समूहका ४३.७ प्रतिशत व्यक्तिको सहभागिता रहेको छ। त्यस्तै ६० वर्षभन्दा माथिका ३७.१ प्रतिशत र १८ देखि ३० वर्ष उमेर समूहका १३.७ प्रतिशत सहभागी भएका छन्।
अभियानकर्ताहरूले प्राप्त सुझावहरूलाई एमालेको पुनर्गठन तथा भावी रणनीति निर्माणमा उपयोगी आधारका रूपमा प्रस्तुत गरिएको बताएका छन्।






प्रतिक्रिया