अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपाली मृत्यु प्रकरणमा ३ नगर प्रहरी पक्राउ, अनुसन्धान तीव्र

गणेश नेपाली मृत्यु प्रकरणमा ३ नगर प्रहरी पक्राउ, अनुसन्धान तीव्र

राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन


काठमाडौँ-राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखी घटनाबारे सोधपुछ तथा अनुसन्धान अघि बढाइएको छ।

मुगुको सोरु गाउँपालिका–१ का नेपालीले बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान करिब साढे ११ बजे वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपालीलाई बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकले उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको बताएका थिए।

नेपाली राइड सेयरिङ व्यवसायमा संलग्न थिए। घटनाअघि राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो। त्यसपछि नगर प्रहरीसँग उनको विवाद भएको र केहीबेरपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।

Skip This