अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न आङ्देम्बेको माग

गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न आङ्देम्बेको माग


काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड-शेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

आङदेम्बेले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश पनि प्रकट गरेका छन्।

उनले परिवारका सदस्यहरूले गणेश नेपाली महानगर प्रहरीको व्यवहारका कारण मानसिक तनावमा रहेको बताएको उल्लेख गर्दै घटनाको वास्तविक कारण सार्वजनिक गर्न आग्रह गरे।

‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो। घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले पत्रकारहरूसँग भने, ‘तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य या राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदूर वर्गलाई दुर्व्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन्। यो राम्रो होइन। राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो तर त्यसको विपरीत देखिएको छ।’

आङदेम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरेका छन्। ‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई मलाई यसरी प्रताडित गरिएको छ भनेको रहेछ। यसको गम्भीरतापूर्वक छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ। यो खालको अवस्था रहिरह्यो भने राम्रो हुँदैन,’ उनले भने। 

राइड-सेयरिङ चालकहरू स्वरोजगार भएको र उनीहरूमाथि राज्य पक्षबाट भएको दुव्यर्वहारको आङदेम्बेले भत्सर्ना गरेका छन्। उनले भने, ‘राइड-सेयरिङ भनेको दुई छाक खानका लागि दुःख गरेर कमाउने र परिवार पाल्ने मजदूरहरूले प्रयोग गर्दै आएको प्लेटफर्म हो तर तिनै मजदूरहरूलाई सडक किनारामा मोटरसाइकल पार्किङ गरेको भन्दै राज्यले दुर्व्यवहार गर्नु ठिक होइन।’

आङदेम्बेले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।  राइड शेयरिङ चालकमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

Skip This