अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छः एमाले

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छः एमाले

एमालेको प्रश्नः नागरिकलाई आत्मदाहसम्म पुग्ने अवस्था किन आयो


काठमाडौं-नेकपा (एमाले)ले मुगुका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा एमालेले परिवार पाल्नका लागि काठमाडौंमा राइडरका रूपमा काम गरिरहेका गणेश नेपालीको आत्मदाहको घटनाले देशलाई स्तब्ध बनाएको उल्लेख गरेको छ। नागरिकलाई रोजगारी र गरिखाने वातावरण दिनुको सट्टा निराशा र प्रताडना दिने राज्य संयन्त्रको दबाबका कारण उनले यस्तो आत्मघाती कदम चाल्न बाध्य भएको एमालेको दाबी छ।

एमालेले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

वक्तव्यमा वर्तमान सरकार पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा लिएर सत्तामा पुगे पनि श्रृंखलाबद्ध जनविरोधी गतिविधिका कारण जनविश्वास गुमाउँदै गएको आरोप लगाइएको छ। सरकारले सुकुम्बासी बस्ती हटाउने नाममा गरिब तथा निमुखा नागरिकलाई वर्षायाममै घरबारविहीन बनाएको, जसका कारण हजारौँ नागरिक आवासको अधिकारबाट वञ्चित भएको एमालेको भनाइ छ।

एमालेले सरकारी नीतिका कारण सुकुम्बासी समुदायका केही नागरिक आत्महत्या गर्न बाध्य भएको तथा सयौँ नागरिक मानसिक तनाव र डिप्रेसनको सिकार बनेको दाबी गरेको छ। राज्यद्वारा सञ्चालन गरिएका अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्की दिने र भोकमरीको जोखिममा धकेल्ने कार्य अमानवीय भएको आरोप पार्टीले लगाएको छ।

वक्तव्यमा संविधानले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार र सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउँदै गरिब तथा निमुखा नागरिकमाथिको दमन तत्काल रोक्न र उनीहरूको सुरक्षित व्यवस्थापन तथा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न माग गरिएको छ।

Skip This