अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, काठमाडौँमा फेरि बढ्यो अव्यवस्थित पार्किङ

गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, काठमाडौँमा फेरि बढ्यो अव्यवस्थित पार्किङ


काठमाडौँ-केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रणमा सक्रिय देखिन्थे। तर आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि भने सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको देखिएको छ।

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयले घटनाको छानबिनका लागि समिति गठन गरी महानगर प्रहरीसँग समेत सोधपुछ गरिरहेको छ। घटनापछि नगर प्रहरीमाथि आक्रमण वा सुरक्षा जोखिम बढ्न सक्ने आकलनका कारण केही समयका लागि नियमित सडक ड्युटी सीमित गरिएको स्रोतले जनाएको छ।

एक नगर प्रहरी कर्मचारीका अनुसार हालको परिस्थितिमा ज्यानको सुरक्षासम्बन्धी जोखिम देखिएकाले नियमित रूपमा सडकमा खटिन नसकिएको हो। उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ज्यानकै जोखिम हुन सक्ने अवस्था देखिएकाले अहिले हामी नियमित रूपमा सडकमा ड्युटी गरिरहेका छैनौँ।’

नगर प्रहरीको उपस्थिति घटेसँगै काठमाडौँका विभिन्न क्षेत्रमा फेरि अव्यवस्थित पार्किङ बढ्न थालेको छ। विशेषगरी राइड सेयरिङ सेवामा आबद्ध चालकहरूले सडक किनारमै सवारी रोकेर यात्रु कुरिरहने, लामो समयसम्म पार्किङ गर्ने तथा मोबाइल प्रयोग गर्दै सडक नै ओगट्ने प्रवृत्ति बढेको देखिएको छ।

यसले सवारी आवागमनमा बाधा पुग्नुका साथै ट्राफिक जाम र सडक अव्यवस्था बढेको स्थानीयवासीको गुनासो छ। नगर प्रहरीको सक्रियता कमजोर हुँदा सडक व्यवस्थापनमा समेत चुनौती थपिएको उनीहरूको भनाइ छ।

यद्यपि, काठमाडौँ महानगरपालिका वा नगर प्रहरी कार्यालयले नियमित सडक ड्युटीमा कटौती गरिएको विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।

Meta AI

Skip This