अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होल्डिङ सेन्टरमा सुकुम्बासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्तामाथि प्रहरी दमन, माजिद अन्सारी घाइते

होल्डिङ सेन्टरमा सुकुम्बासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्तामाथि प्रहरी दमन, माजिद अन्सारी घाइते


काठमाडौं-कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरुको अवस्था बुझ्न पुगेका जेनजी अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रिया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कूटपिट तथा धरपकड गरेको छ। प्रहरीको कूटपिट तथा धरपकडबाट माजिद अन्सारी घाइते नै भएका छन्।

उनीहरूलाई प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको भिडियो तथा पक्राउपछि अनुहारमा चोट देखिएको अन्सारीको तस्वीर सार्वजनिक भएको छ। अन्सारी अहिले कीर्तिपुर अस्पतालमा भर्ना भएका छन् । उनको भिडियो एक्स रे लिनेदेखि अन्य स्वास्थ्य परीक्षाणको काम भइरहेको छ ।

लगातारको वर्षापछि होल्डिङ सेन्टरमा पानी पसेर त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू डुबानमा परेपछि उनीहरू त्यहाँको अवस्था बुझ्न तथा प्रभावितलाई सहयोग गर्न पुगेका थिए। सोही क्रममा प्रहरीसँग विवाद उत्पन्न भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरी नियन्त्रणमा परेका अभियन्ता माजिद अन्सारीले आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट र लछारपछार गरेको थियो, जसका कारण आफ्नो नाकबाट रगतसमेत बगेको उनले बताएका छन्।

हाल अन्सारी, थापासहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। घटनाबारे नेपाल प्रहरीले भने औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यसअघि अविरल वर्षाका कारण राधास्वामी होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ बस्दै आएका सुकुम्बासीहरू प्रभावित भएका थिए। सरकारी पक्षले प्रभावितहरूको सुरक्षित स्थानमा व्यवस्थापन गर्दै तत्काल बसोबास तथा खानपानको व्यवस्था मिलाउने काम भइरहेको जनाएको छ।

घटनाको वास्तविक अवस्था र नियन्त्रणमा लिने कारणबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

उनीहरूको पक्राउको सामाजिक सञ्जालमा विरोध भएको छ । जेन–जी अभियन्ता भावना राउतले उनीहरूको रिहाइको मागसहित सामाजिक सञ्जालमा लेखेकी छन्, ‘लाजलाई पनि लाज लागिसक्यो, माननीय गृहमन्त्रीज्यू । हिजो सडकमा हुँदा हातहतियारबिना शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकारका लागि लड्नुभएको होइन र ? आज त्यही अधिकारको पक्षमा बोल्नेहरू नै अपराधी बनाइँदै छन् । सत्ताले यति धेरै बदलिदिन्छ ? कि सत्ता ले अन्ततः सबैलाई आफ्नै दास बनाउँछ ? यदि मानव अधिकारको पक्षमा उभिनु अपराध हो भने हामी सबै अपराधी हौँ । सबैलाई थुन्ने जेल बनाइदिनुस् ।’