अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन


काठमाडौं-सुकुमवासीको उचित व्यवस्थापन तथा अधिकार सुनिश्चित गर्न माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सुकुमवासी समुदाय, विभिन्न सरोकारवाला तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले राज्यले वर्षौंदेखि सुकुमवासी समस्याको दीर्घकालीन समाधान गर्न नसकेको आरोप लगाउँदै भूमि तथा आवासको सुनिश्चित व्यवस्थापन गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सुकुमवासीमाथि अन्याय भइरहेको, बसोबासको अधिकार सुनिश्चित नभएको तथा सरकारले समस्या समाधानभन्दा दमनकारी नीति अपनाएको आरोप लगाए। उनीहरूले हालै सुकुमवासी आन्दोलनका क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको विषयप्रति पनि आपत्ति जनाएका छन्।

प्रदर्शनकारीहरूले पक्राउ परेका व्यक्तिहरूलाई तत्काल विनाशर्त रिहा गर्न, सुकुमवासीहरूको पहिचान र अधिकारको सम्मान गर्न तथा उचित पुनर्स्थापना र व्यवस्थापनको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नाराबाजी गर्दै सरकारको ध्यान सुकुमवासी समस्यातर्फ आकर्षित गराएका थिए। उनीहरूले सुकुमवासीको समस्या समाधानका लागि स्पष्ट नीति, व्यवहारिक योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।

Skip This